प्राथमिक शेयरमा आवेदनकर्ता तीन गुणाले बढेका छन्। एकै पटक तीन गुणाले आवेदनकर्ता बढेपछि अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको छ।

यस अघिको निष्कासनमा एकै पटकमा १६ हजार आवेदनकर्ताले आवेदन पर्ने गरेको रेकर्ड रहेको थियो। बिहीबार भने एकै पटकमा ५० हजारको सङ्ख्यामा आवेदन पर्न थालेपछि नयाँ रेकर्ड कायम भएको हो।“यस अघि एकै पटकमा १६ हजार आवेदनकर्ताले आवेदन गर्ने गरेको रेकर्ड थियो। बिहीबार भने एकै पटकमा ५० हजारको सङ्ख्यामा आवेदन पर्न थालेको छ“सिडिएससिका प्रवक्ता सुरेश न्यौपानेले भने।

एकै पटक तीन कम्पनीको प्राथमिक शेयर निष्कासन भएपछि यो सङ्ख्या ह्वात्तै बढेको हो। लकडाउनका कारण बैक तथा वित्तीय संस्थाका शाखा मार्फत आवेदन दिनेले समेत अनलाइनबाटै आवेदन दिएपछि यो सङ्ख्यामा उल्लेख्य वृद्धि भएको न्यौपानेको भनाई छ। आवेदन वृद्धि भएसँगै अनलाइन आवेदनको ट्राफिक समेत एकै पटक बढेको छ। जसका कारण अनलाइन आवेदनमा आवेदनकर्ताले केही पालो कुर्नु पर्ने भएको छ। पालो कुर्नु पर्ने भएपछि लगानीकर्ता चिढिएका छन्।

यति बेला भौतिक रुपमा बैक वित्तीय संस्थामार्फत आवेदन दिने घटेका छन्। सबैजसो लगानीकर्ताले घरबाटै अनलाइन मार्फत प्राथमिक शेयरमा आवेदन दिन थालेका छन्। बिहीबार सम्म अनलाइनबाट लिबर्टि इनर्जिमा ४४ हजार दुई सय,समाज लघु वित्तमा २५ हजार दुई सय र रिलायन्स इन्स्योरेन्समा २३ हजार दुई सयले आवेदन दिएका छन्।

जबकि अफ लाइन बैक वित्तीय संस्थामै गएर लिबर्टि इनर्जिमा ४८ सय, समाज लघु वित्तमा आठ सय ५० र रिलायन्स इन्स्योरेन्समा जम्मा पाँच सय २० मात्रै आवेदन परेको न्यौपानेले बताए।

बिहीबारसम्म  लिबर्टि इनर्जिमा १९ करोड ६० लाख रुपैयाँ बराबरको १९ लाख ६० हजार कित्ता, समाज लघु वित्तमा नौ करोड १५ लाख रुपैयाँ बराबरको नौ लाख १५ हजार कित्ता र रिलायन्स इन्स्योरेन्समा २० करोड ७५ लाख रुपैयाँ बराबरको २० लाख ७५ हजार कित्ताको लागि आवेदन परेको हो।

निष्कासित शेयरमा समाज लघु वित्तमा माग बढी आवेदन परेको छ भने रिलायन्स र लिबर्टिको शेयर भने अझै बिक्री हुन बाँकी छ। समाजले ८६ हजार कित्ता शेयर निष्कासन गरेको हो भने लिबर्टिले ३५ लाख ६४ हजार र रिलायन्सले ६३ लाख कित्ता शेयर निष्कासन गरेको हो।

अनुमान भन्दा बढीको आवेदन पर्न थालेपछि क्षमता बिस्तार गर्नु पर्ने निष्कर्षमा केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि )पुगेको छ। चौतर्फी रुपमा लगानीको वातावरण अवरोध देखिएको बेला प्राथमिक शेयरमा सबैजसो लगानीकर्ताले अनलाइनवाटै आवेदन गर्न थालेपछि क्षमता विस्तार गर्नु पर्ने निष्कर्षमा सिडिएससि पुगेको न्यौपानेले बताए।

यस अघि १६ हजारको रेकर्डलाई हेरेर सिडिएससिले एकै पटकमा २० हजारले आवेदन दिन सक्ने गरी व्यवस्था गरेको थियो। तर अनुमान भन्दा बढी आवेदन परेपछि अनलाइन सेवा समेत सुस्त भएको छ। अनलाइन सुस्त हुँदा लगानीकर्ताले आवेदन दिन केही समय पर्खिनु पर्ने भएको छ।

यस अघि यस्तै चाप पर्ने भन्दै सिडिएससिले एकै पटक सबै कम्पनीको आवेदन नखोल्ने बताएको थियो। तर पछिल्लो समय २० आवेदकले एकै पटक आवेदन  गर्न सक्ने क्षमता बिस्तार गरेपछि तीन वटैको आवेदन खोलिएको थियो। तर लकडाउनका कारण सबै लगानीकर्ताले अनलाइनबाटै आवेदन दिएपछि प्रणाली नै सुस्त हुन पुगेको बताइएको छ।

यो आवेदनलाई हेरेर सिडिएससिले प्रविधिमा थप लगानी गर्नु पर्ने देखिएको न्यौपानेको भनाइ छ। आगामी दिनमा क्षमता बिस्तारकोलागि व्यवस्थापनमा प्रस्ताव लैजाने न्यौपानेले बताए।